Jan 15, 2016
सत्तामोह र कुशल नेतृत्व अभावका कारण नेपाली कांग्रेस गतिहीन, दिशाहीन र सिद्धान्तहीनजस्तै छ यतिबेला । कुनै पनि पार्टीको परिचय उसको सिद्धान्तले दिने हो, तर कांग्रेसले स्थापनाकालीन सिद्धान्तलाई कम्युनिस्टहरूको खोक्रो गणतन्त्ररूपी ललीपपमा रमाएर समाप्त पारिसकेको छ । पार्टी निर्माणमा सिंगो जीवन समर्पित गरेका कृष्णप्रसाद भट्टराईले जीवनको उत्तरार्धमा पार्टी त्यागको घोषणा गर्नुपर्ने बाध्यता त्यसैको उपज थियो । त्यसैले त कांग्रेस गतिहीन र दिशाहीन बन्न पुग्यो । अब नयाँ युवाले स्थापनाकालीन सिद्धान्त जोगाएर पार्टीलाई गति दिन सकेनन् भने पार्टी इतिहासमा सीमित हुनेछ ।
 
कांग्रेस कार्यकर्तालाई पार्टीको सिद्धान्त र इतिहास जोगाउने अवसर आएको छ, एकपटक । कांग्रेस यतिबेला तेह्रौँ महाधिवेशनको सँघारमा छ । कम्युनिस्टहरूले भीख नदिएको भए विधानतः गएको असोज ५ गते कांग्रेसको वैधानिकता समाप्त हुने थियो, त्यसैले त असोज ३ गते हतारमा कांग्रेस नेतृत्वकै सरकार भएका बेला संविधान जारी गरियो ।
 
संविधान जारी भएकै मितिले पार्टीको वैधानिक हैसियत ६ महिनाका लागि थप भयो । लोकतान्त्रिक पार्टीको छवि कायम राख्न सकेको भए सायद कांग्रेसले अघिल्लो वर्ष नै महाधिवेशन सम्पन गरिसक्नुपर्दथ्यो । त्यो छवि कायम राख्ने आँट न नेतृत्वमा देखियो न त भविष्यको कांग्रेस हाँक्छु भन्नेहरूमा । किनकि दुनियाँले पत्याउने नेतृत्वको अभावबाट गुज्रिरहेको छ कांग्रेस पछिल्लो पाँच वर्षदेखि ।
 
सिद्धान्त परित्याग गरे पनि सधैँजसो राजनीतिको केन्द्रमा रहँदै आएको कांग्रेसले पछिल्लो समय विकसित राजनीतिलाई नेतृत्व प्रदान गर्न सकेको छैन । उसैको कारण उत्पन्न मधेस समस्याले आज सर्वसाधारण नेपालीले कष्टकर जीवन भोग्नुपरेको छ । पदले आफैँ राजनीति गर्दैन, समयअनुकूल सही होस् या गलत तत्काल निर्णय लिने क्षमता हुनुपर्छ नेतृत्वमा । 
 
पुराना कोइरालाहरूमा त्यो क्षमता थियो, तर विरासत जोगाउने नाममा खडा गरिएका पछिल्ला कोइरालामा त्यो क्षमता पटक्कै देखिएन । तेह्रौँ महाधिवेशनमा फेरि पनि सभापति पद हत्याउने दाउमा छन् सुशील कोइराला । आफ्नो कार्यकालमा पार्टी संगठन चुस्त, दुरुस्त र गतिशील हुन नसकेकाले भावी पुस्तालाई पार्टी नेतृत्वको जिम्मेवारी सुम्पेर आफू अभिभावक बन्नुपर्ने दायित्व उनले बुझेका छैनन् । बितेको पाँच वर्षमा कुनचाहिँ उल्लेख्य काम गरे उनले र अब नेतृत्वको दाबा गर्ने ?       
 
अब विरासतको युग समाप्त भएको छ । विरासत थाम्न फेरि सुशील नै पार्टीको सभापतिमा लड्नुपर्ने भएपछि कोइरालाहरूको औचित्य पनि स्वतः समाप्त भएको मान्नुपर्छ, किनकि उनी कोइराला वंशकै कमजोर नेता भए । यसलाई अब तोड्नुपर्छ । कृष्णप्रसाद भट्टराईले उत्तराधिकार बनाएनन् परिवारभित्रबाट । 
 
गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारी सानो कोटरीमा मात्र रमाएनन् व्यक्तिगत लाभ लिनुबाहेक पार्टी र जनहितमा देख्नलायक केही काम पनि गर्न सकेनन् । त्यसैले त उनीहरूको औचित्य र हैसियत पनि समाप्त भएको छ । उनीहरूले पार्टीबाट जे पाए त्यो पनि हैसियतभन्दा बढी पाइसकेका छन् । मौका एउटै व्यक्तिलाई सधैँ आइरहँदैन । सधैँ उही व्यक्ति नेतृत्वमा बसिरहने हो भने अरूले किन राजनीति गरिरहने ?       
 
सुशीलसँगै शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि सभापतिको दाबी गर्ने हैसियत गुमाइसकेका छन् । इतिहासमै कमजोर बनेको पार्टी तीनैजनाको नेतृत्वमा चलिरहेको छ । पार्टीबाट हुने निर्णय तीनजना बसेर गर्ने, मन्त्री, सभासद्, राजदूतलगायत हरेक राजनीतिक नियुक्ति तिनैजनाको भागबन्डामा गर्ने, हरेक विषयको निर्णय गर्ने अधिकार शीर्ष भनेर तीन नेताले लिने, पार्टीको ८५ सदस्य रहेको केन्द्रीय समितिले कुनै निर्णय गर्नुपरे तीनजनालाई निर्णय गर्ने अधिकार दिने अनि सुशीलको नेतृत्वमा पार्टी कमजोर भयो, अब मैले नेतृत्व गर्नुपर्छ भनेर देउवा र पौडेलले भन्न सुहाउँदैन ।
 
तीन शीर्ष नेता मात्र होइन, पदाधिकारी र केन्द्रीय सबै नेता भावी नेतृत्वका लागि असफल भइसकेका छन् । निर्णयमा सहभागी हुने, परिणाम सोचअनुकूल नआए एकजनामा दोष थोपरेर उम्किने कस्तो प्रजातान्त्रिक संस्कार हो ? पौडेलले गुल्मीमा भएको एक कार्यक्रममा भने, ‘पार्टी अब यसरी चल्दैन, सुशील र देउवा सभापति र प्रधानमन्त्री भइसकेकाले पार्टी हाँक्न मलाइ दिनुहोस् ।’ सुशील नेतृत्वको पार्टीमा उपसभापति होइन पौडेल ? देउवाले वरिष्ठको पगरी गुथेको होइन ?  किन पार्टी कमजोर भयो त ? नेतृत्वको दाबा किन र केका लागि ? 
      
 
सभापतिको हैसियतले पार्टीलाई कमजोर बनाएको अपजस सुशीललाई नै जान्छ किनकि उनले सभापतिमा निर्वाचित भएपछि विधानअनुसार धमाधम काम गर्न सकेनन् । निर्णय गर्ने हैसियत राख्नै सकेनन् । अधिकारको प्रयोग समेत गर्न नसक्ने सुशीलले नेतृत्वको दाबी गर्न मिल्छ ? विरासत थाम्न होइन, प्रतिस्पर्धामा कोइराला परिवारबाट सुजाता, शशांक वा शेखर जो पनि लड्न सक्छन् । एक्काइसौँ शताब्दीमा आएर पनि अब कसैको वंश जोगाउन कोही हतियार बनिरहनु न्यायोचित होला र प्रजातान्त्रिक पार्टीका लागि ?
       
अर्जुननरसिंह केसी, शशांक कोइराला, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, रामशरण महत नेतृत्वका आकांक्षी देखिएका छन् । नेतृत्वको दाबा किन (? ) भन्ने प्रश्नको उत्तर उनीहरूसँग पनि छैन । नेतृत्वमा स्थापित हुन नयाँ नीति, दृष्टिकोण र कार्यकर्तालाई विश्वास दिलाउन सक्ने कार्यक्रम हुनुपर्छ । महामन्त्री भएँ, अब सभापति बन्नुपर्छ भनेर सरकारी कर्मचारीझैँ प्रमोसन खाने ठाउँ होइन पार्टी राजनीति । कर्मचारीमा पनि निश्चित क्राइटेरिया हुन्छन् प्रमोसनका लागि । अब जसमा दूरदृष्टि, देश र जनताप्रतिको चिन्तन, जसले सबैले पत्याउने खालको नयाँ नीति, दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न सक्छ, उसको नेतृत्व हुनुपर्छ, चाहे पच्चीस वर्षको युवा नै किन नहोस् ।
 
राष्ट्रियता इतिहासमै कमजोर छ । देशमा सरकार छ तर जनतामा छैन । विदेशीले नेतृत्वलाई दलाल मात्र बनाउन खोज्छन्, समृद्ध नेपालका लागि सघाउन चाहँदैनन् । यस्तो अवस्थामा फेरि उही नीति र उही नेतृत्वलाई पार्टी हाँक्ने जिम्मेवारी दिए के हालत होला पार्टी र देशको ?     कांग्रेसको भोट बैंकका रूपमा रहँदै आएको तराई–मधेसमा समस्या थोपर्ने तर समाधान अरूबाटै आशा गर्ने वर्तमान नेतृत्वकै निरन्तरतालाई तराईवासीले किन विश्वास गर्ने ?       
 
आजको सबैभन्दा ठूलो समस्या युवा पलायनको हो । हाम्रा युवाको रगत–पसिनाले विदेशभूमि सम्पन्न भएका छन् । युवा पुस्ताले आफ्नो भविष्य खोज्न खाडी मुलुक र युरोप–अमेरिका जानुपरेको छ, उनीहरूलाई नेपालमै भविष्य छ भन्ने आधार खडा गर्न सक्नुपर्छ । यसका लागि पनि युवाकेन्द्रित नयाँ नेतृत्वको खाँचो छ ।
 
गगन थापा पार्टीको बाह्रौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित युवानेता हुन् । सभापति सुशीलमा विवेक भएको भए त्यतिबेलै उनलाई महामन्त्रीमा नियुक्त गर्नुपथ्र्यो, कसैको दबाबको प्रतीक्षा गर्न पर्दैनथ्यो । थापामा नेतृत्व गर्ने क्षमता थियो, छ । पहिलो संविधानसभामा समानुपातिक सभासद् रहेका उनी दोस्रो निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र न ४ बाट एमाले, माओवादी र आफ्नै बागी उम्मेदरवारले भन्दा बढी मत ल्याएर निर्वाचित भएका व्यक्ति हुन् । उनको भाषण गर्ने कलाले काठमाडौँका अन्य उम्मेदवारलाई पनि निर्वाचनमा विजयी गराएको थियो ।
 
उनमा केही गर्ने सोच देखिन्छ, चिन्तन छ, भविष्यको कल्पना छ र त्यसमा समृद्ध नेपालको परिकल्पना पनि । युवाकेन्द्रित कार्यक्रम ल्याउनुपर्छ भन्ने सोच उनको थियो, खाडीमा युवा पलायन बढेपछि । संसद् बैठकमा उनले पटकपटक यो कुरा उठाएका छन् । भूकम्पपछि तरुणलाई स्वयंसेवकका रूपमा खटाउन सकिने नयाँ कार्यक्रम ल्याए उनले । युवा परिचालन गरेर भत्केको संरचना बनाउन सकिने उनको प्रस्ताव थियो । केही विद्यालयका भवन पनि बनाएका छन् उनले । काठमाडौँबाट निर्वाचित सभासद् एकजुट गराएर हराभरा काठमाडौँको कार्यक्रम पनि उनैको पहलमा ल्याइयो । कृषि तथा जलस्रोत समितिको सभापतिका हैसियतले बूढीगण्डकीमा स्वदेशी लगानीमा बिजुली निकाल्न सकिने प्रस्तावसमेत पेस गरे उनले । यस्तो व्यक्तिलाई नेतृत्वमा किन स्थापित नगर्ने ?    
   
गगनप्रति युवाको विश्वास छ, तर केही युवा भन्ने गर्छन्, ‘म धेरै ठूलो मान्छे भएँ भन्ने घमण्ड छ गगनमा’ धेरैको फोन रिसिभ गर्न चाहँदैनन् उनी । आर्थिक रूपमा सम्पन्न भएको आरोप पनि लाग्ने गर्छ उनलाई । आर्थिक स्रोत पारदर्शी भयो भने सबैको विश्वास जित्न सकिन्छ । पंक्तिकारलाई गगनले चिन्दैनन्, तर यी सुझाव मनन गरेर केही युवाले भनेझैँ ‘घमण्डबाट मुक्त भए’ भने देश हाँक्ने हैसियत राख्न सक्छन्, किनकि कांग्रेसले अब चुन्ने नेतृत्वसँग राष्ट्रियता र लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।
 
हिजो बीपीसँग नेतृत्वकला थियो, सुवर्ण शमशेरसँग धन र मन थियो । सूर्यप्रसाद उपाध्यायसँग बुद्धि थियो । आज गगन थापा, तरुण दलका अध्यक्ष उदयशमशेर राणा, नेता विश्वप्रकाश शर्मा मिलेर सामूहिक नीति तथा कार्यक्रमका साथ अघि बढ्न सक्ने हो पार्टी हाँक्ने हैसियत राख्छन् । गगनसँग नेतृत्व क्षमता छ, उदयसँग नयाँ दृष्टिकोणसहित आर्थिक हैसियत पनि छ भने शर्मासँग कदभन्दा अग्ला विचार छन् । पार्टीमा आन्तरिक लोकतन्त्रको विकासका लागि वैचारिक पुनर्जागरणसहित आगामी महाधिवेशनमा नयाँ नीति र नयाँ नेतृत्व भन्दै नयाँ युवाकेन्द्रित नीति र कार्यक्रम सार्वजनिक गर्ने आँट गरे भने यी तीन युवानेता स्थापित हुनेछन् । त्यसले पार्टीलाई नयाँ जीवन मात्र दिने छैन, पार्टीमा देखिएका गुटउपगुट र भागबन्डाको राजनीति पनि स्वतः समाप्त हुनेछ ।
 
पार्टीको महाधिवेशन प्रसंग चलेपछि नेतृत्वमा को पुग्ने भन्ने बहस मात्र हुने गरेको छ यसअघि । पार्टीलाई गतिशील बनाएर लैजान कस्तो नीति र कार्यक्रम बनाउने भन्ने बहस कहिल्यै हुँदैन । बाह्रौँ महाधिवेशनमा सभापति चुन्दा पाँच वर्षभित्र कस्तो कांग्रेस भनेर परिकल्पना गरिएको थियो र परिणाम के भयो भन्ने समीक्षा हुनुपर्दैन कार्यकार्तामाझ ? ककसको कोटाबाट महामन्त्री वा पदाधिकारीमा लड्ने भन्दा पनि अब पार्टीलाई मात्र होइन, राष्ट्रलाई नेतृत्व दिन सक्ने क्षमता भएको व्यक्ति नेतृत्वमा स्थापित हुन सक्यो भने कांग्रेस पार्टीको हैसियत जोगिनेछ, सुन्दर भविष्य कोरिनेछ । त्यसका लागि नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनैपर्छ ।


-विनोद न्यौपाने
२०७२ पौष १९ आईतवार
- See more at: http://annapurnapost.com/News.aspx/story/24415#sthash.xBIJJsWi.dpuf